काठमाडौं- नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ। संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। यी मध्ये ५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।
५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लालाई रेड जोनको रुपमा हेरिन्छ। यसरी ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा मोरङ, काठमाडौं, ललितपुर, कास्की र कैलाली रहेका छन्।
यस्तै १० वटा जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित उपचाररत छन् । ति जिल्लाहरुमा झापा,सुनसरी,धनुषा, सिरहा सप्तरी,भक्तपुर, चितवन, काभ्रे, बाँके र रुपन्देही रहेका छन्। सोमबार तीन सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।