दाङ- राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला मर्मत नगरिँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पुर्याए पनि सम्बन्धित निकायले सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको हो।
रुकुम, सल्यान र तुलसीपुर, अमेलिया हुँदै नेपालगञ्ज, सुर्खेत लगायत पश्चिम नेपालका विभिन्न ठाउँ जानका लागि सो सडकखण्डमा दैनिक २ सयभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन्।
गत वर्ष साउनमा परेको अविरल वर्षासँगै खसेको पहिरोका कारण सो सडकखण्ड उच्च जोखिम तथा जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले समयमा ध्यान नदिँदा यस पटक अझै जोखिम मोल्नुपर्ने बाध्यता रहेको बखरियाका स्थानीय पत्रकार देवीराम कुसारीले बताए।
सो सडकमा गाडी चलाउँदै आएका चालक रमेश बस्नेतले अहिलेसम्म वर्षा नभए पनि ठाउँठाउँमा पहिरो खस्ने, ठूला खाल्डाखुल्डी परेकाले समस्या हुने गरेको बताए।
यसैबीच, सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले अमेलिया सडक विस्तार गर्न टेन्डर भइसकेको बताएका छन्।
उनले अहिले वर्षादको समयमा नयाँ बाटो विस्तार गर्दा झन् समस्या पैदा हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफूले निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताए।
तुलसीपुरदेखि झन्डै २६ किलोमिटरको दूरीमा रहेको अमेलिया नाका क्षेत्र समेत हो। तुलसीपुर, घोराही तथा लमही सडकखण्डमा पर्ने खोलामा वर्षाको समयमा बाढी आएपछि ती सडक अवरुद्ध हुँदा पनि वैकल्पिक रुपमा तुलसीपुर-अमेलिया सडक प्रयोग गरिन्छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।