बाग्लुङ- जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित भएका छन्।
विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन्। उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिए।
जमिन भासिन थालेपछि पहिरोको डरले गाउँलेहरु सुरक्षित ठाउँतिर लागेका हुन्।
'घरगोठ पनि चर्किएर बस्न नमिल्ने बनेका छन्', वडा अध्यक्ष कँडेलले भने। खेती गर्ने जग्गा पनि धाँजा फाटेपछि गाउँलेहरु पीडामा छन्। लत्ताकपडा, खाद्यान्न, पशु चौपायासहित घर छोडेका विस्थापितहरु राहत र पुनःस्थापनाको पर्खाइमा छन्। तत्कालका लागि अस्थायी बास बनाएर उनीहरुलाई राख्ने गाउँपालिकाको तयारी छ।
सुरक्षित ठाउँमा जग्गा खोजेर पुनःस्थापना गर्नुपर्ने विस्थापितको माग छ।
'तत्काललाई काठ र जस्तापाताबाट बन्ने अस्थायी संरचनामा व्यवस्थापन गर्छौं', वडा अध्यक्ष कँडेलले भने, 'दीर्घकालीन पुनःवासको लागि समय लाग्छ।'
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खेरल नेतृत्वको टोलीले शुक्रबार घटनास्थलको निरीक्षणपछि विस्थापित परिवारलाई भेटेर राहत रकम बाँडेको छ। जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रतिपरिवार १० हजारका दरले राहत रकम वितरण गरिएको हो। यस्तै, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाग्लुङको तर्फबाट एक/एक थान त्रिपाल प्रदान गरिएको छ।
वडा कार्यालयले पनि खाद्यान्न सहयोगस्वरुप प्रतिपरिवार एक बोरा चामल उपलब्ध गराएको जनाइएको छ। थप राहत र पुनःस्थापनाको लागि सहयोग जुटाउने काम सुरु भएको गाउँपालिकाका अध्यक्ष अम्मर थापाले बताए।
'पुन:स्थापनाका लागि सबै पक्षसँग मिलेर योजना बनाउँछौँ', अध्यक्ष थापाले भने।
निरन्तर जमिन भासिँदै जाँदा तल्लो काउलेमा रहेको बस्ती र मध्यपहाडी पुष्पलाल लोकमार्ग समेत जोखिममा पर्ने खतरा छ। गाउँपालिकाले जोखिमयुक्त ठाउँमा हिँडडुल नगर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ। गत मंगलबारदेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरोका घटना निम्त्याएको छ। पहिरोले जिल्लाको पश्चिम गलकोट र दक्षिण भेगमा बढी क्षति पुर्यासएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।