भक्तपुर– भक्तपुरमा विभिन्न घटनामा परी आज एकैदिन ३ जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–८ जितपुरमा आज रहस्यमय अवस्थामा एक जनाको शव फेला परेको छ।
जितपुर टावरस्थित दिनेश खड्काको घर डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा वर्ष ३६ का उमेश कार्कीको रहस्यमय अवस्थामा शव भेटिएको हो। मृतक कार्कीको हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरलले बताए।
प्रहरीले हत्या भएको आशंकामा घटनामा संलग्न रहेका व्यक्तिको खोजी गर्नुका साथै प्रहरीका तालीम प्राप्त कुकुरसमेत ल्याई अनुसन्धान कार्य जारी राखेको प्रहरीको भनाइ छ।
यसैगरी चाँगुनारायण नगरपालिका–५ का १४ वर्षीय राज चाकातुको विष सेवनका कारण मृत्यु भएको छ। विषादी सेवनबाट अशक्त उनलाई भक्तपुर अस्पतालमा उपचारका लागि लगेकामा त्यहाँ उपचार हुन नसकेपछि नागरिक अस्पताल गठ्ठाघर लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको पोखरेलले जानकारी दिए।
त्यस्तै मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरा सुकुम्बासी बस्तीका एक जना युवाको आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको छ। सुकुम्बासी बस्तीको ब्लक नम्बर १ बस्ने वर्ष २५ का सुरज दियालीको शव फेला परेको र प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।