काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छानबिनका क्रममा कोभिड खोपको वितरण, भण्डारण तथा ढुवानीका सन्दर्भमा गम्भीर लापरबाही भएको देखिएको छ।
कोरोना विरुद्धको २४ लाख डोज खोपको विवरण हराएको विषय बाहिरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गरेर खोपबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेका थिए।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा माघ २१ गतेसम्म भण्डारण तथा ढुवानी लगायतको प्रक्रिया व्यवस्थित नहुँदा ५६ हजार ९०८ डोज खोप खेर गएको उल्लेख छ।
खोपको यकिन विवरण नराखिँदा तथा भण्डारणमा ध्यान नदिँदा म्याद गुज्रेर तथा अन्य कारणबाट खोप खेर गएको छानबिन समितिले उल्लेख गरेको छ।
छानबिन समितिका अनुसार यही माघ २१ गतेसम्म नेपाल सरकारबाट खरिद, कोभ्याक्स सुविधा र विभिन्न राष्ट्र तथा सहयोगी निकायबाट अनुदान सहयोगबाट गरी ५ करोड ५७ लाख ८ हजार ६४० डोज खोप प्राप्त भएको छ।
माघ २१ गतेसम्म ३ करोड ३८ लाख २६ हजार ३३० डोज खोप सर्वसाधारणलाई लगाइएको विवरण प्राप्त भएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। यस्तै, १ करोड २३ लाख ३७ हजार ६६५ डोज खोप उक्त मितिसम्म मौज्दात रहेको देखिएको समितिले जनाएको छ।
समितिको छानबिनका क्रममा ४ लाख ५५ हजार ३५५ डोज खोप बढी देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपालले प्राप्त गरेको जम्मा खोपको मात्रा, मौज्दात मात्रा र खोप लगाएको मात्राको विश्लेषण गर्दा उक्त परिमाणमा खोप बढी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
छानबिन समितिका अनुसार केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फारम, मौज्दात र खोप लगाएको विवरण अभिलेख नियमित र पूर्ण रुपमा अध्यावधिक नभएको देखिएको छ। यस्तै, खोप मौज्दात पूर्ण रुपमा ई–एलएमआईएस मा प्रविष्ट हुन नसकेको तथा खोप सेसन सञ्चालन पश्चात स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको प्रणाली (डीएचआईएस–२) मा दैनिक रुपमा प्रविष्ट नभएको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।