अमेरिका– विश्वमा अझै धेरै महिला सांसदको आवश्यकता रहेकोमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले जोड दिएका छन्।
हरेक वर्ष आजकै दिन अर्थात् जुन ३० मा मनाइने विश्व संसदवाद दिवशको सन्दर्भमा दिएको सन्देशमा उनले सो धारणा राखेको जनाइएको छ।
उनले उक्त सन्देशमा भनेका छन्,‘अझै पनि विश्वका संसदहरुमा पुरुष सांसदहरुकै बाहुल्यता रहेको छ, ती स्थानमा अब बढीभन्दा बढी महिला सांसदहरु हुनु जरुरी छ, यसबाट मात्र विश्वमा महिलाको वर्तमान अवस्थामा सकारात्मक परिवर्तन हुनेछ।’
‘राजनीतिमा महिला सहभागिताको अवस्था बढेको छ, सङ्ख्यात्मक रुपमा हेर्दा यसको अवस्था सन्तोषजनक पनि देखिन्छ तर पनि यसले संसदमा महिलाको सहभागितालाई भने उल्लेख्य रुपमा बढाउन सकेको छैन।’, उनले थपे।
सन्देशमा भनिएको छ,‘यो नयाँ दिवस, संसदवाद दिवस मनारहँदा मैले के अनुरोध गर्न चाहन्छु भने तपाईं सांसदहरुले आआफ्नो देशको संसदमा जनताका कुरा उठाउनुहोस र जनताले भोगेका समस्याहरुको समाधान गरी उनीहरुका जिवनशैलीलाई बढी सहज बनाउने पक्षमा नीति निर्माण गर्नुहोस्।’
आफै पनि कुनैबेला सांसद रहेको स्मरण गर्दै गुथ्रेसले कुनै पनि देशको शासन व्यवस्थालाई प्रजातान्त्रिक बनाउन संसद र सांसदको ठूलो हात रहने जिकिर गरे।
उनले संसद नै प्रजान्तत्र, शान्ति, मानवअधिकारको संरक्षण र देशको विकासका लागि सबैभन्दा ठूलो आधारका रुपमा रहने धारणा राखे।
महासचिव गुथ्रेसले राष्ट्रसंघद्धारा लक्षित दिगो विकासका कार्यक्रमहरु पूरा गर्ने पक्षमा संसदमा कामगर्न पनि संसदलाई आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघले पहिलो पटक यो दिवस जुन ३० मा मनाउने निर्णय गरेको हो। यस दिवसका दिन विश्वमा संसदीय प्रजातन्त्रको अवस्था, यसको सुधारका पक्षहरुका साथै संसदीय प्रतिनिधित्वको बारेमा विचार विमर्श हुने गर्दछ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।