भैरहवा– बलात्कार घटनाका पीडितहरुलाई पुनःस्थापनाका लागि क्षतिपूर्ति दिने कानुनी व्यवस्था छ। तर, रुपन्देही जिल्लाका पीडितहरु उक्त क्षतिपूर्ति लिन जाँदैनन्। जबर्जस्ती करणी घटनामा अदालतबाट दोषीलाई जेल सजायसँगै क्षतिपूर्ति समेत भराउने आदेश भए पनि पीडितहरुले क्षतिपूर्ति लिन नआउने गरेको पाइएको छ।
मुलुकी ऐन जबर्जस्ती करणी महलको दफा १० मा कसैले कुनै महिलालाई जबर्जस्ती करणी गरेको ठहरे अदालतले पीडितको शारीरिक वा मानसिक क्षति विचार गरी मनासिव ठहराए बमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराई दिनुपर्नेछ भन्ने उल्लेख छ।
रुपन्देहीमा चालू आर्थिक वर्ष २०७४/७५ को असार ११ गतेसम्म जबर्जस्ती करणीका ५० वटा मुद्दा दायर भएका छन्। जसमा १९ वटा मुद्दा फर्छ्यौट भइसकेको जिल्ला अदालत रुपन्देहीको प्रशासन शाखाका प्रमुख गंगाप्रसाद अधिकारीले बताए। यस्तै, गत आर्थिक वर्षमा दायर ८६ वटा मुद्दामध्ये ५४ वटा फर्छ्यौट भएका थिए।
तर, यी दुई वर्षमा मुद्दाको छिनोफानो भएर दोषी ठहरिएका प्रतिवादीबाट क्षतिपूर्ति भराउन आदेश भए पनि कसैले पनि क्षतिपूर्तिको लागि अदालतमा दर्खास्त नदिएको जिल्ला अदालत रुपन्देहीका तहसिल शाखाका प्रमुख तहसिलदार प्रेमनारायण पराजुलीले बताए। मुद्दा फैसलासम्म पीडितको पहिचान गोप्य राखिने र क्षतिपूर्ति लिन पीडितहरुले पहिचान खोलेर दरखास्त दिनुपर्ने भएकाले उनीहरु क्षतिपूर्ति लिन नआएको हुनसक्ने पराजुली बताउँछन्।
‘मुद्दा फैसला हुँदासम्म पीडितहरु पनि 8मा पुनःस्थापित भइसकेका हुन्छन्। त्यसैले पनि उनीहरु क्षतिपूर्तिका लागि पुरानो घाउ कोट्याउन चाहँदैनन् जस्तो लाग्छ’, पराजुलीले भने।
पीडितहरुले क्षतिपूर्तिका लागि भन्दा पनि प्रतिवादीलाई सजाय गराउन मुद्दा लड्ने हुँदा प्रतिवादीले पाएको जेल सजायमा पीडितहरु सन्तुष्ट हुँदा क्षतिपूर्तिका लागि नआउने गरेको उनले बताए।
त्यस्तै, क्षतिपूर्ति प्राप्त गर्न पीडितले प्रतिवादीको जेथा (सम्पति) बाट क्षतिपूर्ति भराई पाऊँ भनी दरखास्त दिनुपर्ने तर पीडितले प्रतिवादीको जेथा पत्ता लगाउन नसक्दा पनि क्षतिपूर्ति नमाग्ने अर्को कारण हुनसक्ने उनले बताए।
यता जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका मुख्य न्यायाधिवक्ता कोशहरि निरौलाले आफूहरुले पीडितहरुलाई क्षतिपूर्ति प्राप्त गर्नसक्ने कानुनी व्यवस्थाबारे परामर्श दिने गरे पनि मुद्दाको फैसला भएपछि चासो नदिने गरेको र क्षतिपूर्तिको विषयमा कुनै जानकारी÷सहयोग लिन नआउने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।