काठमाडौं– सभामुख कृष्णबहादुर महराले जनताका सबै आवाज संसदभित्र पुर्याउन पूर्वसांसदहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
३०औं संसद् दिवसको अवसरमा शनिबार संघीय संसद् भवनमा आयोजित कार्यक्रममा सभामुख महराले संसदभित्रका दलभन्दा बाहिरका आवाजको सम्बोधनका लागि पूर्वसांसदहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। संसदभन्दा बाहिर अभिव्यक्त भइरहेका आवाजलाई पनि संसदमा प्रवेश गराउन सके सम्पूर्ण जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने थलोको रुपमा संसद् चित्रण हुने उनको भनाइ छ।
सभामुख महराले आम नागरिकको अधिकार स्थापित गराउन पूर्व सांसदहरुको सुझाव सधैं स्वीकार्य हुने समेत बताए। राज्यसँग छलफल गरेर जनताको हित अनुकूल वातावरण बनाउन आवश्यक सुझाव दिन उनले पूर्व सांसदहरुलाई आग्रह गरे।
उनले राजनीतिक रुपमा सामन्तवादको अवशेष नरहे पनि सामाजिक र सांस्कृतिक रुपमा अझै कायम रहेको र तिनले नागरिकका अधिकार कुण्ठित गर्न सक्नेतर्फ गम्भीर हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।