नयाँ दिल्ली– भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले नेपालको परिवर्तन जन अपेक्षा अनुसार भएको बताएका छन्।
२०६२ मंसिरमा नेपालका माओवादी र तत्कालीन सात दलबीच भएको १२ बुँदे दिल्ली सहमतिकोे पृष्ठभूमि स्मरण गर्दै मुखर्जीले नेपाली जनताको परिवर्तनको चाहनालाई भारतले सम्मान मात्र गरेको बताए।
नेपालको परिवर्तनलाई नजिकबाट नियालेका ८३ वर्षीय मुखर्जीले जनमतको अपेक्षाबाट मात्र परिवर्तन सम्भव रहेको भन्दै जनअपेक्षा अनुसार भएको नेपालको परिवर्तनमा भारतको सदासयता मात्र रहेको बताए।
उनले भने, ‘नेपालको जनअपेक्षा र परिवर्तनमा हाम्रो सदासयता हो। परिवर्तनका संवाहक नैपाली जनता नै हुन्।’
नेपालमा १० वर्षे माओवादी हिंसा भइरहँदा उनी तत्कालीन युपिए गठबन्धनको सरकारका प्रभावशाली मन्त्री थिए । त्यसबेला रक्षामन्त्री समेत रहेका मुखर्जी दिल्लीमा भएको १२ बुँदे सहमतिको पृष्ठभूमिका कुशल खेलाडी समेत हुन्।
नयाँ दिल्लीको दशराजाजी मार्गस्थित निवासमा शुक्रबार भएको अनौपचारिक छलफलका क्रममा मुखर्जीले नेपालको परिवर्तन नेपाली जनताकै चाहनाबाट भएको बताए।
उनले भने, ‘जनअपेक्षालाई बुझेर हामीले समस्या समाधानका लागि सकारात्मक भूमिका निर्वाह गरेका हौं।’
भारतको तत्कालीन संस्थापन पक्षले १२ बुँदे सहमति गराउन सहयोग गरेको थियो भन्ने अहिलेसम्मको आम बुझाइलाई मुखर्जी समक्ष जिज्ञासाका रुपमा राख्दा उनले नेपालको जनअपेक्षाका पक्षमा भारतले सहयोग गर्दै आएको बताए।
‘भारत आफैमा प्रजातान्त्रिक अभ्यासमा विश्वास गर्ने देश हो। भारतले नेपालको जनअपेक्षालाई बुझेर नै सात दल र माओवादीबीच सम्बन्ध स्थापित गराउँदै परिवर्तनका लागि भूमिका निर्वाह गरेको हो’, उनको तर्क छ।
मुखर्जीले नेपालको प्रजातान्त्रिक परिवर्तनमा भारतको सधैं सदिच्छा रहँदै आएको बताए।
नेपालको २०६२/६३ को परिवर्तनपछि मुखर्जी युपिए गठबन्धन सरकारमा परराष्ट्र मन्त्री समेत रहे। त्यसबेला ‘अल जजिरा’ टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले नेपालका माओवादी र सात दलबीच दिल्लीमा सहमति गराउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।
छिमेकी नेपालको जनअपेक्षालाई बुझेर भारतीय संस्थापन पक्षले नेपालको परिवर्तनलाई साथ दिँदै आएको मुखर्जीले छलफलमा बताए।
त्यसो त भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीहरुको समेत योगदान छ। नेपाल र भारतको परिवर्तनमा दुवै देशका नागरिकले एक–अर्कालाई सघाएको इतिहास छ। ती पक्षलाई स्मरण गर्दै उनले भने, ‘नेपाल–भारत सम्बन्ध सदियौं पुरानो छ।’
मुखर्जी भारतको राष्ट्रपति पदमा छँदा सन् २०१६ फेब्रुअरीमा नेपालकी समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए। नेपाल सरकार र नेपाली नागरिकले उक्त भ्रमणका बेला गरेको स्वागत र सत्कार अविस्मरणीय रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।