काठमाडौैं– सरकारले बिशेष टोली बनाएर सुन तस्करीको अनुसन्धान भइरहेको समयमा पनि सुन तस्करी भने जारी नै छ। भारततर्फ सुन तस्करीको प्रयास हुँदै गर्दा प्रहरीले शनिबार नागढुंगामा ३ किलो सुन बरामद गरेको छ।
यूके ०२३६८४ नम्बरको मारुती कारबाट सुन बरामद भएको हो। कारको एयर फिल्टरमा लुकाएर तस्करी गर्ने क्रममा सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। प्रहरीलाई छक्याउन उनीहरुले यस्तो तरिका अपनाएको हुनसक्ने प्रहरीले जनाएको छ। यो नयाँ शैलीको तस्करी भएको प्रहरीले जनाएको छ।
प्रहरीले चालक भारतीय नागरिक दिमक कुमार मोर्रे र महेन्द्रनगरका मनोज बिकलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा सो सुन काठमाडौंबाट भारततर्फ तस्करीको प्रयास भएको खुलेको एसएसपी पोखरेलले बताए।
बरामद सुन रसुवा नाकाबाट तस्करी भएको आशंका गरिएको छ। सुनका मालिक पत्ता लागेको छैन।
बिहिबार पनि वीरगंजमा भारततर्फ तस्करी हुँदै गरेको एक किलो सुन प्रहरीले बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।