एजेन्सी– बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्ममा सञ्जयको भूमिकामा रणवीर कपुर देखिएका छन्।
फिल्मले बलिउडमा २०१८ मा रिलिजकै दिन धेरै कमाउने फिल्महरुको कीर्तिमान तोड्दै सर्वाधिक व्यापार गर्ने सूचीमा आफ्नो नाम लेखाएको छ। 'सञ्जु'ले शुक्रबार मात्र ३४.७५ करोड भारु कमाएको थियो।
बलिउडका व्यापार विश्लेषक तरण अादर्शका अनुसार, यसअघि यस वर्ष रिलिज भएका फिल्महरुमध्ये 'रेस ३' ले पहिलो दिन २९.१७ करोड कमाएको थियो भने 'बागी २' ले २५.१० करोड र 'पद्यावत'ले १९ करोडको व्यापार गरेको थियो।
रणवीरको अभिनय यात्राको पनि पहिलो दिनमै सर्वाधिक व्यपार गर्ने फिल्म बनेको छ, 'सञ्जु'। यसअघि उनी अभिनीत 'बेसरम'ले रिलिजको दिन २१.५६ करोडको व्यापार गरेको थियो।
कुनै चाडपर्व र बिदा नभएको समयमा पनि फिल्मको व्यापार राम्रो देखिएकाले प्रदर्शनको पहिलो साता नै 'सञ्जु' ले एक सय करोडभन्दा बढीको व्यापार गर्ने अनुमान विश्लेषकहरुले गरेका छन्।
फिल्ममा रणवीरसँगै परेश रावल, विक्की कौसल, मनिषा कोइराला, अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपुर लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।