रसुवा- उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।
रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ ४ हजार २०३ मिटरमध्ये ३ हजार ९५३ मिटर निर्माण भइसकेको छ। एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको संरचनानुसार ३ युनिटमध्ये पहिलो युनिटबाट सन् २०१९ भित्र र अन्य युनिटबाट सन् २०२० भित्र उत्पादन गरिसक्ने लक्ष्य लिइएको बताइएको छ।
रु १३ अर्ब ६४ करोड ४० लाखको लागतमा सन् २०१४ देखि निर्माण सुरु भएको आयोजनामा भूकम्पले बाहिरी सतहमा लामो समयसम्म बाधा पुर्याएको र तत्कालीन अवस्थामा पेट्रोलियम पदार्थको अभाव एवं स्याफ्रु–रसुवागढी राजमार्गमा आएको पहिराका कारण सामान तथा उपकरण समयमा ढुवानी गर्न असहज भएका कारण निर्माणको समयावधि लम्बिन गएको आयोजनाले जनाएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट विद्युत् निरन्तर उत्पादन हुनेछ।
भोटेकोशी र लेहेन्दे खोलाको पानी सदुपयोग गर्दै आयोजना निर्माण हुन लागेको र अहिलेसम्मको समग्र प्रगति ६२ प्रतिशत पूरा भइसकेको आयोजना प्रमुख छविलाल गैरेले बताए। ठेकदार कम्पनी सिडब्लुई चाइनाअन्तर्गत २६० चिनियाँसहित ७६० कामदार संलग्न रहेको आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।