ललितपुर- जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ।
समितिको बैठकले जिल्लाका ६ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।
महानगरपालिकामा च्यासलको खेल मैदान, भैँसेपाटी छयासीकोट नजिकैको खाली ठाउँ र धोबीघाट नजिक मलपोखरीको खुल्ला स्थानलाई समितिले विरोध गर्न पाउने स्थानका रुपमा तोकेको छ। जिल्लाकै गोदावरीको बसपार्क नजिकको खाली ठाउँ, बज्रबाराही मन्दिर ढोका नजिकको खुला ठाउँ र लुभुस्थित सशम्भु चौरमा मात्रै विरोध गर्न पाउने निर्णय भएको परिसरले जनाएको छ। 'यीबाहेक अरुतिर प्रदर्शन गरे नियमानुसार कारबाही हुनेछ,' चन्दले भने।
काठमाडौँ उपत्यकाका तीनै जिल्लामा विरोध गर्ने ठाउँ तोक्ने गृह मन्त्रालयको निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा बसेको समितिले सो निर्णय गरेको हो।
तोकिएका स्थानमा बाहेक अन्यत्र नारा, जुलुस, भेला, जम्मा, विरोधलगायत कार्यक्रम गर्न नपाइने प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो। तोकिएका बाहेकका स्थानमा विरोध प्रदर्शन गर्दा स्थानीय शासन सञ्चालन ऐनअन्तर्गत कारबाही हुनेछ।
यसअघि लगनखेल, जिल्ला प्रशासन कार्यालय अगाडि र कुपण्डोल हुँदै काठमाडौँसम्म विरोधका कार्यक्रम हुने गरेका थिए। काठमाडौंको माइतीघर मण्डलामा पनि साउन १ देखि लागू हुनेगरी सरकारले निषेधित क्षेत्र तोकिसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।