काठमाडौं – चर्चित हास्य कलाकार किरण केसी ६१औँ वर्षमा प्रवेश गरेका छन्। जन्मदिनको अवसर पारेर शुक्रबार ललितपुरको इमाडोलमा केसीले एक कार्यक्रमका बीच नयाँ फिल्म निर्माणकाे घोषणा गरेका छन्।
‘दाल भात तरकारी’ नाम दिइएकाे फिल्म अाउँदाे मंसिरबाट छायांकनका लागि फ्लाेरमा जाने केसीले बताए। केसीका निकट स्रोतका अनुसार फिल्मलाई उनकै छोरा सुदन केसीले निर्देशन गर्नेछन्।
वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, दिपकराज गिरीलगायतको उपस्थितिमा केसीले जन्मदिन मनाएका हुन्। कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार सन्तोस पन्त र चलचित्र पत्रकार विदुर गिरीलाई सम्मान समेत गरिएको छ।
कलाकार र पत्रकारहरुलाई हौसला बढाउन सम्मान गर्दै आएकोमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कलाकार केसीप्रति आभार व्यक्त गरे।
सम्मानित वरिष्ठ हास्य कलाकार पन्तले कलाकार र पत्रकारहरुलाई सम्मान गर्ने परम्पराले नयाँ पुस्ताका कलाकारहरुलाई हौसला प्रदान गर्ने धारणा राखे।
हास्य टेलिशृङखला 'जिरे–खुर्सानी'मार्फत ‘राता मकै’का नामले चर्चा कमाउन सफल कलाकार केसीले विगत ७ वर्षदेखि जन्मदिनको अवसर पारेर हाँस्य कलाकारिता र चलचित्र पत्रकारिताको क्षेत्रमा योगदान दिइरहेका हास्य कलाकर्मी तथा पत्रकारहरुलाई सम्मान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।