काठमाडौं– प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०७५ बहुमतले पारित गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गरियोस् भनि राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो। यसअघि विधेयकमाथि सासंदहरुले राखेको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
त्यसैगरी शुक्रबारकै बैठकले आर्थिक विधेयक, २०७५, राष्ट्र ऋण उठाउने विधेयक, २०७५ र ऋण तथा जमानत (२२औं संशोधन) विधेयक, २०७५ लाई स्वीकृत गरेको छ।
अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, २०७५ लाई विचार गरियोस् भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। सो विधेयकको दफावार छलफलका लागि असार १८ गतेको समय तोकिएको छ।
त्यसैगरी अर्थमन्त्री खतिवडाले राखेको राष्ट्र ऋण उठाउने विधेयक, २०७५ र ऋण तथा जमानत (२२औं संशोधन) विधेयक, २०७५ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।
सबै विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद प्रेम सुवालले ‘के का लागि ऋण’ भन्ने स्पष्ट हुनुपर्ने माग गरे। खानेपानी, भूकम्पपछिको पुर्नःनिर्माण र स्वास्थ्य बाहेकका क्षेत्रका लागि ऋण लिन नपाइने भन्दै उनले ऋण लिनुपर्ने कारण स्पष्ट आउनुपर्ने तर्क गरे।
‘नेपाली जनताको प्रत्येकको टाउकोमा २५ हजार रुपैयाँ ऋण छ। के खाएको छ नेपाली जनताले? कुन–कुन सरकारले ऋण ल्याएर नेपाली जनतालाई ऋण बोकाएको हो? ती मन्त्रीहरु कुन–कुन हुन्? र सबैको घर खेत कति जोड्यो त्यो सबै हिसाब–किताब हुनुपर्छ?,’ सांसद सुवालले प्रश्न गरे, ‘ऋण भुकम्पपछिको पुनःनिर्माणमा प्रयोग गर्ने भनेर आउनुपर्छ। स्वास्थ्यको लागि प्रयोग गर्ने, खानेपानीको लागि भनेर अनि हामीले स्वीकृति दिन मिल्छ। त्यत्ति तै ऋण लिने भनेर हुन्छ?’
सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजित बजेटमा १ सय ७२ अर्ब ऋण उठाउने प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।