काठमाडौं– हलवाला र वितरकबीचको विवादका कारण कारण बलिउड फिल्म 'सञ्जु' प्रदर्शननमा समस्या देखिएको छ।
शुक्रबारबाट प्रदर्शनमा आएको उक्त फिल्मका लागि बुधबारबाट टिकट खुल्ला हुनुपर्ने भए पनि त्यसो हुन सकेन। मल्टिप्लेक्स हलले आफ्नो वेबसाइटमा पनि फिल्मको टिकट बिक्रीमा राखेनन्।
अहिले राजधानीमा मल्टिप्लेक्स हलमध्ये क्युज हल दरबार मार्ग, गोपीकृष्ण मुभिज र अन्य केही सिंगल थिएटर हलमा मात्र फिल्म प्रदर्शनमा छ। फिल्म सञ्चालनमा ल्याउन हलवाला र वितरकबीच छलफल भइरहे पनि सहमति भइनसकेको स्रोत बताउँछ।
फिल्म प्रदर्शनका क्रममा ‘विक डेज’ अर्थात् हप्ताका केही दिन मंगलबार, बुधबार र बिहीबार हलवालाहरुले फिल्मको टिकटमा विशेष छुट दिने गरेका छन्। यस विषयमा सञ्जुको नेपाल वितरक चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले असहमति जनाएपछि फिल्म प्रदर्शनमा किचलो उब्जिएको हो।
क्युएफएक्स चेनले भने लामो समयअघि देखि नै विक डेज टिकटदरको प्रयोग गर्दै आएको थियो। त्यसैले दर्शकलाई सूचना नै नदिई मूल्य परिवर्तन गर्न नमिल्ने भन्दै चेनले फिल्म प्रदर्शनमा असमझदारी आएको जनाएको छ।
तर फिल्मका वितरक मनोज राठीले भने फिल्म अब सबै हलमा सञ्चालन हुने बताए। उनले भने, ‘सञ्जु हिरा हो, जुनजुन हलवालाहरुले हिरा चिन्छन्, उनीहरुले फिल्म चलाउँछन् अन्यले चलाउँदैनन्।’
यसमा सहमति र असहमति भन्दा पनि व्यापार ठूलो कुरा भएको उनले बताए। 'त्यसैले कतिपय स्थानमा फिल्म चलिरहको छ। चलाउन मन हुनेले चलाउँछन्, नहुनेले चलाउँदैनन्।’
सञ्जय दत्तको बायोपिक फिल्ममा रणवीर कपुर सञ्जयको मुख्य भूमिकामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।