मेरिल्यान्ड- अमेरिकाको म्यारिल्यान्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि ५ जनाको ज्यान गएको छ। मारिनेमा ४ जना पत्रकार र एक जना बजार शाखाका सहायक स्तरका कर्मचारी रहेका छन्। अरु केही घाइते भएका छन्।
मेरिल्यान्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ।
आनापोलिस नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो। संदिग्ध हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
हमलामा एक जना करिब ३० वर्षका जस्ता देखिने पुरुषको संलग्नता रहेको प्रारम्भिक अनुमान प्रहरीको छ। नियन्त्रणमा रहेको सो पुरुषले प्रहरीलाई सोधपुछको क्रममा असहयोग गरेको र आफ्नो पहिचान पनि नदिएको एक समाचारमा बताइएको छ।
क्यापिटल गजेट पत्रिकाका एक सम्वाददाताले आक्रमणकारीले लुकेर सिसाको ढोकाबाट गोली चलाएको बताएका छन्। उक्त पत्रिकाका अरु प्रत्यक्षदर्शी कर्मचारीहरुले गोली वर्षाएपछि कार्यालयभित्र आतङ्क मच्चिएको थियो।
उक्त नगरका प्रहरी प्रमुख बिल क्रम्फले पत्रिकाको कार्यालयमा नियोजित रुपमा यस्तो गोली काण्ड गराइएको बताए। उनले त्यहाँ रहेका अधिकांश कर्मचारीहरुलाई भने सकुशल उद्धार गरेर बाहिर निकालिएको बताए।
केही सञ्चारमाध्यमले सो घटना उक्त पत्रिकाको आन्तरिक विवादका कारण उत्पन्न भएको अनुमान गरेका छन् भने अरु केहीले भने यसलाई आतङ्ककारी क्रियाकलाप पनि हुन सक्ने भनेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार संयोजक सेराह सेन्डर्सले हत्याको निन्दा गरेका छन्। निर्दोष पत्रकारहरूविरुद्धको आक्रमणले सिंगो अमेरिकालाई नै स्तब्ध बनाएको उनले प्रतिक्रिया दिए।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।