लण्डन- बेलायतको जनसंख्या ६ करोड ६० लाख नाघेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१७ को जुनको अन्त्यदेखि अहिले सम्ममा ३ लाख ९२ हजार जनसङ्ख्या थपिएको छ।
इङ्ल्याण्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डबाट थपिएका ती व्यक्तिहरूसहित अहिले बेलायतको कुल जनसंख्या ६ करोड ६० लाख ४० हजार २२९ पुगेको छ।
पहिलाको र अहिलेको जनसङ्ख्याको तुलना गरेर हेर्दा कुल जनसंख्या वृद्धिदर भने शून्य दशमलव ६ प्रतिशत मात्रै रहेको छ। यो वृद्धिदर सन् २००४ को मध्यदेखि अहिलेसम्मकै सवैभन्दा कम रहेको बताइएको छ।
सन् २०१६ को जुनको अन्त्यसम्ममा बेलायतको जनसङ्ख्या ५ लाख ३८ हजार वृद्धि भएको थियो। जुन सन् १९४८ देखिकै सबैभन्दा धेरै वृद्धि थियो।
अहिले वृद्धि भएको मध्ये ४१ प्रतिशत प्राकृतिक वृद्धि हो। जन्मेकाको संख्याबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन देखिने वृद्धिलाई प्राकृतिक वृद्धि भनिन्छ। त्यसबाहेक अरु ५९ प्रतिशत भने बसाइँसराइका कारण बृद्धि भएको तथ्याङ्कले देखाएको छ।
सन् २०१७ को मध्यसम्म ५ लाख ७२ हजार जना बसाइँसराइ गरेका थिए। सोही अवधिमा ३४ हजार २ सय जनाले मुलुक छाडेका थिए। जबकि अघिल्लो वर्ष सोही अवधिमा २८ हजार जना देशबाट बाहिरिएका थिए। देश भित्रिने र देश छाड्नेहरूको जनसंख्याका आधारमा हेर्दा आप्रवासीहरूको जनसङ्ख्या ९ प्रतिशतले वृद्धि भएको छ।
बेलायतमा बसाइँ सर्नेहरूमध्ये सबैभन्दा धेरै रोमानियाली रहेका छन्। उनीहरूको संख्या ५० हजार रहेको छ। त्यसपछि चीन, भारत, फ्रान्स र पोल्याण्डका पनि धेरै आप्रवासी बेलायतमा बसोबास गर्छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।