काठमाडौँ- काठमाडौं महानगरपालिकाले सडकपेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएको छ।
महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करिब ५ सय ५० जनाको सामग्री जफत गरिसकेको छ। जफत गरिएका ती सबै सामग्री लिलाम प्रक्रिया लगिनेछ।
कोटेश्वर, चाबहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्की लगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो।
बिहान बेलुका राखिने यस्ता पसलले पैदलयात्रीलाई आवतजावत गर्न समस्या परेकाले कामपाले यो अभियान थालिएको कामपा नगर प्रहरी महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।
गत जेठको पहिलो साता कामपाले सडक छेउमा विभिन्न किसिमका सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरिएको थियो। उक्त सूचनालाई व्यापारीले अटेर गरेपछि यस्तो अभियान थालिएको उनले बताए।
गत जेठ ६ गतेदेखि थालनी गरेको सो अभियानअन्तर्गत २७८ जनालाई सामानसहित पक्राउ गरिएको थियो। तीमध्ये १७८ जनाको सामान दर्ता गरिएका छन्। बाँकी सय जनाले सामान दाबी गर्न नआएका कारण दर्ता गर्न सकिएको छैन्।
यसैगरी, अभियानका क्रममा करीब ७० जनाबाट तत्काल बिग्रिने, सड्ने, गल्ने सामान जफत गरिएकाले उनीहरुलाई कारबाही गरेर छोडिएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।