बनेपा- काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा बिहीबार सम्पन्न भएको छ।
प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता अगाडिदेखि सुरु भएको जात्रामा यौनिकता झल्काउने गरी उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइन्छ। ज्या पुन्ही जात्राको नाममा परिचित सो जात्रामा पनौतीको लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटी नजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ। रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एकापसमा अबिर छर्केर हर्ष व्यक्त गर्छन्। सो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ।
किंवदन्तीअनुसार उन्मत्त भैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाएर जात्रा मनाउने गरेको पनौती जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कर्माचार्यले बताए। प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीन पटक एकापसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीन पटक जुधाइने उनले बताए।
ज्यहा पुन्हीपछि पनौतीमा यो वर्षको जात्रा सकिन्छ। मन्दिरै मन्दिरको सहरका रुपमा चिनिएको पनौतीमा वर्षमा देवीदेवताको नाममा ५३ वटा जात्रा हुने र त्यसको सम्पूर्ण व्यवस्थापन एउटै समिति पनौती जात्रा मूल व्यवस्थापन समितिले गर्ने प्रचलन छ। त्यसका लागि नगरपालिकाले वार्षिक रुपमा बजेटको समेत व्यवस्था गर्दै आएको छ।
वर्षको अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गर्छन्। छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौँ, भक्तपुर, ललितपुरदेखिका मानिसहरु जात्रा हेर्न आउने गरेको जात्रा व्यवस्थापन समितिले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।