काठमाडौँ- सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ। ‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो।
वैदेशिक रोजगारीबाट फर्किएकाको सिपलाई स्वदेशमा नै प्रयोग गर्न सरकारले के गर्नुपर्छ भन्ने नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले छलफल गरिएको संस्थाका अध्यक्ष कुलप्रसाद कार्कीले बताए। 'स्वदेशमा लगानीको अवसर नहुँदा रोजगारीमा गएर फर्किएकाहरु पुनः रोजगारीका लागि विदेश जानुपर्ने अवस्था देखिएको छ,' उनले भने, 'रोजगारीबाट फर्किएकालाई नेपालमा नै लगाउने विषय अहिले जटिल समस्याका रुपमा छ।'
विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई पुरुषलाई भन्दा पुनः एकीकरणमा समस्या हुने गरेको संस्थाका महासचिव स्वर्णकुमार झाले बताए। 'वैदेशिक रोजगारीबाट स्वदेश कति फर्किए त्यसको आधिकारिक तथ्यांक सरकारसँग नै छैन,' उनको भनाइ छ।
सरकारले रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलनका लागि स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने आवश्यकता सरोकार भएकाहरुले उठाएका थिए। उनीहरुले पहिले बनेका वैदेशिक रोजगारीसम्बन्धी कानुन र नियमावलीलाई कार्यान्वयनमा ल्याउन सरकारले नीति ल्याउनुपर्ने तर्कसमेत राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।