सिओल– अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सिओल पुगेका छन्।
उनी बिहीबार दक्षिण कोरियाको राजधानी सिओल पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आजै राति अबेरतिर उनी जापानको राजधानी टोकियोका लागि उड्ने समाचारमा जनाइएको छ।
प्राप्त समाचारअनुसार रक्षामन्त्री म्याटिसले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँग पनि भेटवार्ता गर्नेछन्।
संयुक्त राज्य अमेरिकाबा राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनबीच गत जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तापछि अमेरिकी उच्च अधिकारी पहिलो पटक चीन, दक्षिण कोरिया र जापानको भ्रमणका लागि निस्किएका हुन्।
दक्षिण कोरिया र जापान अमेरिकाका एसियाली साझेदार हुन्। यी दुई देशले अमेरिकासँग निकै नजिकको सम्बन्ध राखेर काम गर्ने गरेका छन्।
उता दक्षिण कोरिया र जापान उत्तर कोरियाका पनि छिमेकी हुन्। यी देश उत्तर कोरियाले आणविक परीक्षण गर्दा बढी र प्रत्यक्ष प्रभावित हुने देशमा पर्दछन्।
उनी यसअघि चीनको भ्रमणमा गएका थिए। चीनको दुई दिने भ्रमण सकेर बिहीबारै रक्षामन्त्री म्याटिस दक्षिण कोरियाको राजधानी सोल अवतरण गरेका हुन्।
रक्षामन्त्री म्याटिसले चीनमा रहँदा उत्तर कोरियाली नेता किमको निकै प्रसंशा गरेको बताइएको छ। उनले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक प्रतिभाशाली व्यक्ति भनेका थिए।
रक्षामन्त्री म्याटिसले कोरिया र जापानका उच्च अधिकारीहरुसँग सिङ्गापुर वार्ता, त्यसपछिको कोरियाको प्रायद्वीपको अवस्थाका बारेमा छलफल गर्ने छन्।
त्यसैगरी उनले उत्तर कोरियाली नेता किमले आणविक निशस्त्रीकरणको लागि गरेका प्रयासहरुको बारेमा जानकारी गराउँदै उत्तर कोरियालाई निशस्त्रीकरणका लागि तयार गर्नुअघि उसले के गर्छ भन्ने बारेमा चनाखो रहन पनि छिमेकीहरुलाई आग्रह गर्ने बुझिएको छ।
तर भ्रमणका एजेण्डाहरु के हुन् भन्ने बारेमा भने अमेरिका, चीन, दक्षिण कोरिया तथा जापानको तर्फबाट औपचारिक रुपमा भने केही सार्वजनिक भएको छैन। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।