खारतुम– दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका छन्।
दक्षिण सुडानी राष्ट्रपति साल्भा किर र यहाँ हिंसात्मक विद्रोह गरिरहेको संस्थाका नेता रिक माचारले बुधबारमात्र सशस्त्र विद्रोहको स्थायी युद्धविराम गर्ने सहमति गरेका थिए।
सुरुमा युद्धविराम र त्यसपछिको शान्ति वार्ताको सहमतिलाई एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको समाचारमा जनाइएको छ। बुधबार भएको भनिएको स्थायी युद्धविराम सम्झौता ७२ घण्टापछि कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन्।
दक्षिण सुडानमा लामो समयदेखि हिंसा जारी छ। सुडानबाट छुट्टिएर बनेको उक्त देशमा स्वतन्त्र भएसँगै हिंसात्मक विद्रोह सुरु भएको थियो। यस हिंसालाई बुधबारको शान्ति सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ।
उक्त स्थायी युद्धविराम सम्झौतामा दक्षिण सुडानका सबै राजनीतिक दलहरुले पनि हस्ताक्षर गरेका छन्। सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले दक्षिण सुडानको इतिहासमा यस सम्झौताले महत्वपूर्ण परिवर्तनमा सहयोग पुर्याउने अपेक्षा गरिएको बताए।
दक्षिण सुडानको हिंसा अन्त्यका लागि यसअघि पनि पटक–पटक युद्धविराम सम्झौता भएको थियो। तर कार्यान्वयन तहमा त्यसले लामो समय लिन भने पाएको थिएन।
यस युद्धविराम सम्झौताको विश्वका नेताहरुले स्वागत गरेका छन्। सम्झौतापछि शान्ति वार्ताको पहल हुने अपेक्षा इथियोपियाका प्रधानमन्त्री अविय अहमदले गरेका छन्।
उनीसहित अफ्रिकी देशहरुले उक्त सम्झौताको स्वागत गरेका छन्। उनीहरुले शान्ति वार्ता गरी देशमा शान्ति स्थापना गर्न दक्षिण सुडान र यहाँको नेतृत्व तथा विद्रोहीसँग आग्रह गरिरहेका छन्।
दक्षिण सुडानको यस हिंसाका कारण दशौँ हजार जनाको मृत्यु भइसकेको छ। यहाँको हिंसाका कारण लाखौँ मानिस आन्तरिक तथा बाह्य रुपमा पनि विस्थापित भएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।