कैलाली– स्थानीय प्रशासनले धनगढी उपमहानगरपालिका वडा नम्बर ५, तारानगरस्थित क्षेत्रीय पशु स्वास्थ्य तालिम केन्द्रको छात्रावास तथा कर्मचारी क्वार्टर तत्काल खाली गर्न निर्देशन दिएको छ।
यसअघि धनगढीमा प्रदेश ७ को अस्थायी राजधानी तोकिएपछि कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कार्यालय तथा मन्त्रालय व्यवस्थापन समितिले सो तालिम केन्द्रमा यातायात व्यवस्था कार्यालय राख्ने निर्णय गरेको थियो।
धनगढीको मुख्य सडकमा बनेको यातायात व्यवस्था कार्यालयको भवनमा भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राखिएको छ। अहिले यातायात व्यवस्था कार्यालय भाडाको घरमा सञ्चालित छ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०६१ सालमा निर्माण भएको पशु स्वास्थ्य तालिम केन्द्रको भवन कर्मचारी तथा प्रशिक्षार्थीको आवासका लागि प्रयोग भइरहेको छ।
‘मुख्यमन्त्रीको कार्यालयबाट फोन गरेर दुई दिनभित्र भवन खाली गर्न निर्देशन आएको छ,’ तालिम केन्द्रका एक कर्मचारीले भने, ‘नभए प्रहरी लगाएर खाली गर्ने भनेका छन्।’ ती कर्मचारीका अनुसार मंगलबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा गएको टोलीले पनि तालिम केन्द्रको भवन खाली गर्न निर्देशन दिएका थिए।
‘संघीय सरकारले हरेक प्रदेशमा तालिम केन्द्र राख्ने भनेर कार्यक्रम दिइसकेको छ,’ केन्द्रका वरिष्ठ तालिम अधिकृत उत्तम थापाले भने, ‘संघीय मन्त्रालयले सो भवनलाई तरल नाइट्रोजन उत्पादन प्लान्ट प्रयोजनका लागि प्रयोग गर्ने भनेको छ।’
वरिष्ठ तालिम अधिकृत थापाले पशु स्वास्थ्य विभागले अन्य कुनै पनि प्रयोजनका लागि भवन नछोड्न परिपत्र गरिसकेको बताए।
‘हाम्रो विभागले भवन नछोड भन्छ, प्रशासन भवन खाली गर्न दबाव दिँदैछ,’ उनले भने, ‘विभागले खाली गर भन्ने निर्देशन दिएमा हामी छोड्न तयार छौं।’
उनले तालिम केन्द्रको अंग छात्रावास रहेको बताउ“दै, ‘प्रदेश सरकारले विकल्प दिएर छोड्न भनेमा कुनै अप्ठ्यारो नहुने बताए।’ थापाले कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कार्यालय तथा मन्त्रालय व्यवस्थापन समितिले क्षेत्रीय पशु स्वास्थ्य तालिम केन्द्रको छात्रावास यातायात व्यवस्था कार्यालयलाई दिने निर्णय गरेको भनिए पनि अहिलेसम्म पत्र प्राप्त नभएको बताए।
यातायात व्यवस्था कार्यालय सेती अञ्चलले भने सो भवनमा बोर्ड टा“गिसकेको छ। ८ दिनअघि यातायात व्यवस्था कार्यालयले सो भवनमा बोर्ड राखेको थियो। कार्यालयले बोर्ड टा“गे पनि कागजपत्र तथा अन्य सामग्री भने अझैं राखेको छैन। यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले भने, ‘हामीसँग निर्णय छ, सोही अनुसार केही दिनमा त्यहा“ सर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।