राजविराज- सप्तरीको राजविराज नगरपालिकाका मेयर तथा जनप्रतिनिधिहरुको मिलेमतोमा चरम आर्थिक अनियमितता र विधि विपरीत काम भइरहेको भन्दै खबरदारी गरिएको छ।
पूर्वमेयर तथा स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवारहरुले संयुक्त रुपमा बुधबार खबरदारीसभाको आयोजना गरेका हुन्। राजविराजस्थित हटियामा आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले विकासीय कार्यहरु विना टेन्डर कोटेसनको भरमा सञ्चालन गरी आर्थिक चलखेल गरेको आरोप लगाए। सार्वजनिक सूचनासमेत जारी नगरी मेयर शम्भुप्रसाद यादव मनोमानी ढंगले अघि बढेको तत्कालीन नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रहेका सुखराम यादवले बताए।
योजनाको समयसीमा, बजेट, योजनामा काम गर्ने निकाय लगायतका सम्पूर्ण सूचनाबाट नागरिकलाई वन्चित गरिएको उनले गुनासो गरे। असार १० गतेभित्र नगरपालिकाको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था विपरीत मेयरले चरम गैरजिम्मेवारी देखाएको उनको आरोप छ।
माओवादीका उम्मेदवार अनिस अन्सारीले नगर प्रतिनिधिहरुको बेवास्ताका कारण सहर दुर्गन्धित भएको, विवाह दर्ता, मृत्यु दर्तामा अनावश्यक शुल्क वृद्धि गरेको र गरिब जनतालाई आर्थिक शोषण गरिरहेको आरोप लगाए। संघीय 8वादी फोरम नेपालका उम्मेदवार भीमराज यादवले बाढी पीडितलाई सरकारी अनुदानमा आएको २५ हजार रुपैयाँबाट पनि ५ हजार रुपैयाँ काटौती गरेर नगरपालिकाले पीडितलाई थप पीडा दिएको बताए। उनले विकासीय काम कोटेसनको भरमा सञ्चालन गरेको, योजनामा २० देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको लगायतका आरोप लगाए।
राजविराजबाट अञ्चल प्रहरी कार्यालय, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय लगायतका अधिकांश कार्यालयहरु अन्यत्र सारीदा समेत रोक्न पहल नगरेको भन्दै यादवले नगरपालिका र प्रदेश सरकारको आलोचना गरे।
सप्तरीमा राजविराज नगरपालिकासहित १८ वटै स्थानीय तहमा भइरहेका विकासीय काममा चरम आर्थिक अनियमितता भएको र कानुनी बाध्यता हुँदाहुँदै पनि समयमा बजेट र नीति तथा कार्यक्रम सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।