खारटौम- दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारबीच स्थायी युद्धविराम गर्ने सहमति भएको छ। बुधबार भएको स्थायी युद्धविरामको सम्झौता ७२ घन्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन्।
दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ। 'स्थायी युद्धविरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेका छन्,' सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले भने।
दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले सुडानका राष्ट्रपति ओमर अल बसिरको उपस्थितिमा स्थायी युद्धविराम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यसअघि थुप्रै युद्धविराम सम्झौता भए पनि तिनीहरूको उल्लंघन भएका थिए। प्राय: सम्झौता दक्षिण सुडानभन्दा बाहिरी देशहरूमा भएका छन्।
विभिन्न चरणमा भएका पटक पटकका भित्री वार्ता तथा छलफलपछि अहिलेको सम्झौता भएको बताइएको छ। वार्ताका लागि इथियोपियाका प्रधानमन्त्री अविय अहमदले पनि ठूलो योगदान गरेका छन्।
दक्षिण सुडानमा भएको युद्धका कारण दसौं हजार जना मारिएका छन् भने लाखौँ विस्थापित भएका छन्।
विद्रोहीहरूको नेतृत्व गरेका रिक माचार दक्षिण सुडानका पूर्व राष्ट्रपतिसमेत हुन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।