रसुवा- भीषण वर्षासँगै आएको पहिरोले रसुवामा मालबाहक कन्टेनर र बोलेरो जिप बगाएको छ।
पासाङ ल्हामु राजमार्गको कालिकास्थान धुन्चे सडकखण्ड अन्तर्गतको कालिका गाउँपालिका १ राम्चेमा भीषण वर्षासँगै आएको पहिरोले मालबाहक कन्टेनर र जिप बगाएको प्रहरीले जनाएको छ।
बुधबार साँझ केरुङबाट स्याउ लिएर काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७५९० नम्बरको कन्टेनर र कालिकास्थानबाट धुन्चेतर्फ आउदै गरेको बा १७ च २७३५ नम्बरको जिप बगाएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
पहिरोमा मानविय क्षति भने नभएको उनको भनाइ छ।
पहिरो गई सडक अवरुद्ध भएसँगै सयौं सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्। अहिले वर्षा भइरहेकाले आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।