काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माध्यामिक शिक्षा परिक्षा (एसइई) को नतिजामा लापरबाही गर्नेहरुलाई तत्काल निलम्बन गर्न माग गरेको छ।
नेपाल विद्यार्थी संघले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भेटगरी एसइई परीक्षाको नतिजामा लापरबाही गर्ने राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारी तथा कर्मचारीलाई निलम्बनसहितको कडा कारबाही गर्न माग गरेको हो।
एसइई परीक्षाको नतिजामा लापरबाही गर्ने बोर्डका पदाधिकारीलाई निलम्बनसहितको कारबाही तत्काल गर्न मन्त्री पोखरेलसँग माग गरिएको संघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए।
गत शनिबार सार्वजनिक एसइईको नतिजा त्रुटिपूर्ण रहेको भन्दै बोर्ड आफैले सच्याएपछि त्यसको विरोध भइरहेको छ।
संघले गल्ती गरेको स्विकार गरिसक्दा पनि बोर्डमाथि कडा कारबाही गर्न चासो नदिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलप्रति आक्रोश पनि व्यक्त गरेको छ।
यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले एसइईको नतिजामा त्रुटि भएको भन्ने विषयलाई गम्भीरतापूर्वक छानबिन गरी आवश्यक कारबाही गर्ने आश्वासन दिए। सरकारले सो सम्बन्धमा यथार्थ पत्ता लगाउन छानबिन समिति नै गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।