काठमाडौं– काठमाडौंमा एकैदिन तीन जनाको शंकास्पद शव फेला परेको छ।
बुधबार एक युवक र एक युवतीको शव बागमती नदी किनारमा भेटिएको छ। टेकुबाट सानेपा जाने कालोपुलमुनि युवतीको तथा अत्तरखेलस्थित वाग्मती किनारमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ।
दुवै मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले मृतकहरुको फोटोसहितको हुलिया सार्वजनिक गरी कसैले चिनेको भएमा खबर गर्न आग्रह गरेको छ।
मृत भेटिएकी युवती मंगोलियन अनुहारको भएको प्रहरीले जनाएको छ। त्यस्तै युवकको शव नग्न अवस्थामा भेटिएको छ। दुवै जनाको शरीरमा चोटहरु भेटिएकाले हत्या भएको प्रहरी आशंका छ।
यस्तै काठमाडौंको टोखा नगरपालिका–५ बालुवाखानीमा एक व्यक्ति मृत अस्वथामा भेटिएका छन्।
बालुवाखानी नजिक चौरमा पार्किङ गरी राखेको वा.२ च ८०८३ नम्बरको मारुती सुजुकी जिपभित्र काठमाडौं महानगरपालिका–२९ लैनचौर घर भई टोखा नगरपालिका–५ श्रीटोल बस्ने ६१ वर्षीय कृष्णराज कुँवरको शव भेटिएको हो।
प्रहरीले शव पोष्टमार्टमका लागि अस्पतालमा पठाएर घटनाको अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।