काठमाडौं– सलोन बस्नेत स्टारर फिल्म 'बाबु कान्छा' फिल्म 'झिल्के'को रिमेक भएको फिल्मका निर्देशक शोभित बस्नेतले खुलासा गरेका छन्। बुधबार पत्रकारहरुसँगको भेटघाटमा शोभितले यस्तो खुलासा गरेका हुन्।
केही वर्षअघि शोभितकै निर्देशनमा बनेको झिल्के प्रदर्शनमा भने आएको थिएन। शोभितले आफ्नो फिल्म झिल्के निर्माणको ९० प्रतिशत सकेपछि प्रदर्शन गर्ने तयारी गर्दा विविध कारणले सार्वजनिक नगरिएको सुनाउँदै उक्त फिल्मकै कथावस्तु लिएर बाबु कान्छा बनाएको उनले बताएका हुन्।
फिल्म झिल्केमा राम्रो कथा भए पनि कास्ट असुहाउँदो भएकाले त्यसैको कथामा बाबु कान्छा बनाएको शोभितले बताए।
फिल्म बाबु कान्छामा सलोन बस्नेतसँगै उनकी प्रेमिका करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल लगायतको अभिनय रहेको छ।
भेटघाटमा शोभितले फिल्म बाबु कान्छामा सलोनको १७ वर्षअघिका बाल अभिनय फुटेजहरु जोडेर फिल्म तयार गर्नुको रहस्य समेत कार्यक्रममा खोलेका छन्।
उनले भने, ‘विशेषगरी सलोनको बाल्यकालको अभिनयले उतिबेलाका दर्शकहरु प्रभावित भए पनि पछिल्लो समय तिनै पुराना फिल्मप्रेमी दर्शकहरुले सलोनलाई नचिनेको पाइएकाले यस्तो गर्नुपरेको हो।’
फिल्म बाबु कान्छा असार २९ बाट प्रदर्शनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।