काठमाडौं– चावहिल–साँखु सडकबारे सरकारको सार्वजनिक आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणका लागि पहल थालेको छ। मंगलबार मन्त्रालयले गोकर्णेश्वर नगरका पदाधिकारी र काठमाडौं महानगर वडा नम्बर ६ वौद्धका वडा अध्यक्षलाई राखेर तीन वटा सहमति गरेको छ।
ऐतिहासिक वौद्धनाथ पर्यटकीय क्षेत्र भएको स्थानको बाटोमा आगमनका लागि नै समस्या भइरहेको छ। सडकमा खाल्डाखुल्डीका कारण एम्बुलेन्स समेत दुर्घटना पर्ने र दैनिक यात्रुले सास्ती भोगेपछि पछिल्ला केही दिनमा सामाजिक सञ्जालमा सरकारको आलोचना हुँदै आएको थियो।
छलफलमा काठमाडौं क्षेत्र नम्वर ३ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधिसभा सांसद सरिता न्यौपाने, प्रदेशसभा सांसद छिरिङ दोर्जे लामा, रामेश्वर फुयाँल, गोकर्णेश्वोर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेरयर शान्ति नेपाल, काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष दिपेन्द्र लामा र गोकर्ण नगरपालिका वडा नम्वर ४, ५ र ६ का वडाध्यक्षलाई राखेर मन्त्रालयले सहमती गरेको हो।
यस्ता छन् ३ सहमति
१. चावहिल-जोरपाटी-साँखु सडकको टुसाल-बौद्ध क्षेत्रमा तथा जोरपाटी ओरालो क्षेत्रमा खाल्डा खुल्डी परेकोमा उक्त सडक समेत मिति २०७५ असार १३ देखि नै आवश्यक जनशक्ति, मेसिन उपलब्ध गरी निर्माण सुरु गर्ने।
२. उक्त सडकको जोरपाटी–वाग्मती पुल खण्डमा १ महिनाभित्र ह्युम पाइप राख्ने काम सम्पन्न गर्ने। थप ३ महिनामा कालो–पत्रे सम्पन्न गर्ने।
३. उक्त सडकको चुच्चेपाटी–टुसाल क्षेत्रमा असार महिनाभित्र सबबेस निर्माण सम्पन्न गर्ने। उक्त खण्डमा २०७५ भदौ मसान्तसम्ममा कलोपत्रे कार्य सम्पन्न गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।