काठमाडौं– ‘सीधा कुरा जनतासँग’ कार्यक्रमको विवाद प्रहरीसम्म पुगेको छ। सो कार्यक्रमको विषयलाई लिएर प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतका अधिकारीलाई धम्क्याउने २ जना पक्राउ परेका छन्।
इलामको तिल्केनी घर भई हाल ललितपुर बस्ने विनोद गौतम र नवलपरासी सुनवलका विष्णु ढकाललाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको हो।
उनीहरुले ‘सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शव्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरी प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मानप्रतिष्ठा समेतमा आघात पुर्याएको र ज्यान मार्ने धम्की समेत दिएकाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनीहरुलाई विद्युतीय कारोबार ऐनअुनसार कारबाही अघि बढाइएको परिसरका एसपी नरेन्द्र उप्रेतीले बताए।
न्युज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम 'सीधा कुरा जनतासँग'का प्रस्तोता रवि लामिछानेविरुद्ध उजुरी परेपछि प्रेस काउन्सिलले छानबिन थालेको थियो। उनी अमेरिकन नागरिक भएको र प्रेस पास नलिई पत्रकारिता गरेको उजुरी परेको थियो। लामिछानेले आफूले अमेरिकन पासपोर्ट र भिसा रद्दका लागि अमेरिकन दूतावासमा बुझाइसकेको बताएका छन्।
लामिछानेलाई कारबाही गर्न लागेको भन्दै उनका समर्थकले प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठ लगायतलाई अमर्यादित शब्द प्रयोग गरी सामाजिक सञ्जालमा धम्क्याएका थिए। त्यसबारे उजुरी परेपछि महाशाखाले २ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुले लहडमा आफूहरुले फेसबुकमा त्यस्तो लेखेको बताएका छन्।
अपराध महाशाखाले सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादित हुन समेत आग्रह गरेको थियो। यस्ता अपराधमा ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।