काठमाडौं– सहरी विकास मन्त्रालय अन्तर्गत बजेटको छलफलमा एक सांसदले 'सांसदहरुलाई बस्ने भवन निर्माणको योजना किन नआएको' भन्दै मन्त्री मोहमद इस्तियाक राईलाई प्रश्न सोधेका छन्। विशिष्ट व्यक्तिहरुको आवास निर्माणको योजना आएको तर काठमाडौमा घर नहुने सांसदहरुलाई बस्ने आवासको वजेट नदेखिएको भन्दै प्रश्न उठाएका हुन्।
छलफलका क्रममा अन्य सांसदले पनि मन्त्रीसामु प्रश्न गरे।
यस्तो छ प्रश्नोत्तर
प्रेम सुवाल : ७७ जिल्लाका सदरमुकामलाई स्मार्ट सहर बनाउने कार्यक्रम किन आएन? राजमार्ग नजिक सहर बनाउने योजना मात्र आए तर त्योभन्दा पर सहर कहिले बन्छ?
बस्ती बाक्लो भएको सहरमा टिपर आगमन कहिले बन्द हुन्छ?
सरिता गिरी : सप्तरीका नगरपालिका बीचमा विभेद भएको छ, किन सहरी विकास मन्त्रालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो?
तिलबहादुर क्षेत्री : नयाँ जिल्ला नवलपुरको प्रशासनिक भवन स्थापनातर्फ किन रकम विनियोजन भएन?
दिव्यराज भण्डारी : विशिष्ट व्यक्तिहरुको निम्ति भवन बनाउनेका योजना बजेटमा रहेको पाइयो। सांसदहरुको निम्ति घर बनाइयोस् भनी हामीले विगतदेखि कुरा राख्दै आएका हौं, जसको काठमाडौंमा घर छैन उनीहरुका लागि घर बनाउन किन सकिँदैन? किन योजना परेन जानकारी पाऊँ?
सञ्जयकुमार गौतम : संघीयताको सोचभन्दा किन बाहिर गएर बजेट आयो? सहरी विकासको नाममा किन सानासाना बजेट आए?
राजकिशोर यादव : सहरी विकास मन्त्रालयबाट २ नम्बर प्रदेशमाथि किन सौतेनी सन्तानको व्यवहार भयो? सिरहा पनि नेपालभित्रै पर्छ, सहरी विकास अन्तर्गत किन एउटा पनि परियोजना परेन? मेगासिटी र स्मार्टसिटीका लागि उपयुक्त नहुनुको कारण के हो?
मन्त्री मोहम्मद इस्तियाक राईको जवाफ
७७ जिल्ला बन्दा कुनै पनि प्रशासनिक कार्यालय नरहेको नवलपुरमा मात्र होइन सबैलाई समेट्न खोजेका छौं। यहाँ आएका सुझावलाई अवगत गरेर सुधार गर्नेछौं। १८५ नगरपालिकाको डिपिआर तयार भएको छ। बाँकी अरुको बिस्तारै आउनेछ। अति विशिष्ट र सांसदका लागि आगामी वर्ष सांसद आवास बन्नेछ। प्रदेश र स्थानीय तहमा जाने बजेट क्रमागत कार्यक्रम निरन्तरता दिने हो। प्रदेश २ लाई विभेद गरिएको छैन। सिरहा जिल्लामा गोलबजार, लहान र सिरह बसपार्कहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।