काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ वैशाखको भूकम्पले भत्काएपछि पुननिर्माण सम्पन्न भएको हनुमान ढोकास्थित गद्दी बैठक भवनको आज उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले गद्दी बैठक भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिकी राजदूतवास मार्फत अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन्।
हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवन नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र सांस्कृतिक महत्वका भएको प्रधानमन्त्री ओलीले बताए।
‘हामी भूकम्पले क्षतिग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्छौं।’
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुननिर्माण अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री ओलीले फेरि पनि भूकम्प आउन सक्ने भएकाले अबको पुननिर्माण गुणस्तरीय हुनुपर्नेमा जोड दिए।
गद्दी बैठक १९६५ सालमा राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।