चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
बिहान साढे ६ बजेतिर पहिरो खसेको सिमताल अस्थायी प्रहरी चेकपोस्टका इन्चार्ज हेम चौबेल बताए। हिजो पनि बिहान खसेको पहिरो १२ घन्टाको प्रयासपछि पन्छाएपछि सडक खुलेको थियो।चितवनको इच्छाकामना गाउँपालिका- ५ टोपेखोलामा पहिरो खसेको थियो। रातभरको पानीले आज बिहान पनि पहिरो खसेको चौबेको भनाइ छ। बिहानैदेखि पहिरो पन्छाउनका लागि ३ वटा एक्स्काभेटर प्रयोग गरिएको उनले जानकारी दिए।
मुग्लिन-नारायणगढ सडक विस्तारकै क्रममा खस्ने गरेको पहिरो सडक निर्माण पूरा भएपछि पनि नथामिँदा हजारौं यात्रुले सास्ती पाउँदै आएका छन्। सडक आयोजनाका वरिष्ठ इञ्जिनियर गोविन्द खनालले कमजोर भूसतह भएकाले सामान्य पानी पर्दा पनि पहिरो आउन सक्ने बताए।
उनका अनुसार, हाल पहिरो रोकथामका लागि रक नेटिङ, रक बोल्टिङ, बोलस्टर र बायो इञ्जिनियरिङको काम भइरहेको छ। आयोजनाले यस सडकखण्डमा ३३ स्थानलाई पहिरोग्रस्त क्षेत्र निर्धारण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।