काठमाडौं– प्रदेश २ को नामकरण भएको छ। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम ‘मधेश प्रदेश’ कायम भएको हो। मतदानमा सहभागी ९९ मध्ये मधेश प्रदेशको पक्षमा ८० जनाले मत दिएका थिए।
त्यसअघि प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमा मतदान भएको थियो। सहभागी ९९ मध्ये ७८ जनाले जनकपुरधामको पक्षमा मत दिएपछि सो प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम भएको हो। जनकपुरधामले धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग जनाउने छ।
अब नामाकरणको लागि प्रदेश १ मात्रै बाँकी छ। प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ। २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो। प्रदेश १ का कुल ९२ जना प्रदेश सभा सदस्यहरुमध्ये ८६ जनाको उपस्थिति रहेको त्यस दिनको बैठकले स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित गरेको थियो।
सबैभन्दा पहिले तत्कालीन प्रदेश ६ ले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो। सो प्रदेशको प्रदेश सभा बैठकले २०७४ फागुन १२ गते नाम र राजधानी टुंगो लगाएको थियो। त्यस्तै, प्रदेश ४ को प्रदेश सभाले २०७५ असार २२ गते आफ्नो नाम गण्डकी हुने तय गरेको थियो। त्यसअघि असार १८ गते नै राजधानी पोखरा कायम भएको थियो।
२०७५ असोज १२ गते तत्कालीन प्रदेश ७ को प्रदेश सभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो।
तत्कालीन प्रदेश ३ को प्रदेश सभाले २०७६ पुस २७ गते प्रदेशको नाम बागमती र राजधानी हेटौंडा रहने टुंगो लगाएको थियो। त्यस्तै, प्रदेश ५ को प्रदेश सभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका, दाङमा रहने टुंगो लगाएको थियो।
संविधानमा प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम र स्थायी राजधानी तोक्न सक्ने व्यवस्था छ। संविधान जारी हुँदा प्रदेशको नाम र राजधानी तोकिएको थिएन। बरु पछि नाम कायम हुने गरी प्रदेश १ देखि प्रदेश ७ सम्म नाम राखिएको थियो। अस्थायी राजधानी भने २०७४ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारले तोकिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।