लन्डन- युरोपेली संघ (इयु) बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मंगलबार कानुनी बाटो खुला गरिदिएको छ।
मंगलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि विधेयक पारित भएको घोषणा गर्दा कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुसीयाली मनाएका थिए।
बेलायतलाई इयुको सदस्यताका लागि बाटो खोलेको युरोपेली सदस्य राष्ट्रसम्बन्धी ऐन (१९७२) लाई बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो। महारानी एलिजावेथ द्वितीयले त्यसलाई स्विकृत गरेकी हुन्। सभामुख जोन बर्कोले भने, 'अब विधेयकले कानुनी हैसियत प्राप्त गरेको छ।'
विधेयकले दशकौँको युरोपेली कानुनलाई बेलायती कानुनी किताबमा रहेको कुनै पनि वैधानिक समस्यालाई रोक्नेछ। यसले मार्च २९, २०१९ राति ११ बजे (ब्रसेल्सको मध्यरात) लाई बेलायती कानूनमा ‘ब्रेक्जिट डे’का रूपमा पनि स्थापित गर्नेछ। अर्थात् इयु ऐनको धारा ५० बाट हुने बहिर्गमन प्रक्रियाको पनि अन्त्य गर्नेछ।
सन् २०१७ को जुलाईमा प्रस्तुत विधेयकमाथि बेलायती संसदमा २५० घण्टा लामो कडा बहस चलेको थियो।
युरोपप्रति शंका व्यक्त गर्ने बेलायतीहरूले विधेयकले कानुनी स्वरूप पाएसँगै खुसीयाली व्यक्त गरेका छन्। तर इयुबाट बेलायतको बहिर्गमनका लागि ब्रसेल्ससँगको वार्ता भने अझै विविध कारणले अनिश्चित देखिएको छ।
अन्तराष्ट्रिय व्यापारमन्त्री लायम फक्सले विधेयकले ब्रेक्जिटका लागि ‘अपरिवर्तनीय’ रूपमा बाटो खुला गरिदिएको र बेलायतले इयु नछोड्ने सम्भावना शून्य रहने बताए।
सत्ताधारी कन्जरभेटिभ पार्टीका इयुविरोधी चर्चित नेता तथा सांसद याकोव री–मगले पनि बेलायतको सहज बहिर्गमनका लागि अब वैधानिक अवस्था धेरै बलियो भएको बताएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।