टोकियो- जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ।
एक जना आक्रमणकारी प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दुक खोसेर भागेका थिए भने अर्को स्थानमा निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डमाथि गोली हानिएको छ। गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ।
चक्कु प्रहारबाट घाइते प्रहरी ४६ वर्षीय केनिची इनाइजुमीको पनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। करिब ४ सय विद्यार्थी रहेको उक्त विद्यालयका सुरक्षा गार्डलाई गरिएको आक्रमणपछि सम्पूर्ण विद्यार्थीलाई केही समयसम्म विद्यालयको एउटा फराकिलो कोठामा लगेर राखिएको थियो।
नियन्त्रणमा लिने प्रयासमा प्रहरीले गोली चलाउँदा आक्रमणकारी २१ वर्षीय केइटा शिमाजु घाइते भएका छन्। उनी जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य भएको बताइएको छ। शिमाजु सन् २०१५ मा जापानको पश्चिमी सहर कानाजावा शिविरबाट सेनामा भर्ती भएका थिए। तर राइफल चलाउने तालिमपश्चात् गत वर्षको मार्चमा उनले सैनिक जागिर छोडेका थिए।
जापान अन्य मुलुकको तुलनामा विरलै यस किसिमका हिंसात्मक घटना हुने मुलुक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।