काठमाडौं– वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीमा जाने युवालाई सूचना संप्रेषण तथा सचेतनामूलक कार्याक्रम गर्न छुट्याएको ६० लाख रुपैयाँ बजेट प्रयोगविहीन भएको छ।
विदेशिने युवालाई लक्षित गर्दै बोर्डले विभिन्न सञ्चारमाध्यमबाट सूचना तथा रोजगारसम्बन्धी जागरण कार्यक्रम सञ्चालनका लागि वार्षिक रुपमा बजेट विनियोजन गर्दै आएको छ। जस अनुसार चालू आर्थिक वर्ष २०७४/०७५ का लागि छुट्याइएको ६० लाख रुपैयाँ खर्च गर्न नसकेर फ्रिज हुने अवस्थामा पुगेको हो।
बोर्डले उक्त रकम तत्काल खर्च गर्नसक्ने अवस्था नरहेकाले फ्रिज हुनसक्ने बोर्डका एक कर्मचारीको भनाइ छ।
बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्षित गदै रोजगारीसम्बन्धी विभिन्न भाषामा सञ्चार माध्यमबाट कार्याक्रम प्रसारण गर्ने उद्देश्यले छुट्टै बजेट छुट्याउने गरेको बोर्डकी सूचना अधिकारी पवित्रा घिमिरे अधिकारीले बताइन्।
उनले भनिन्, ‘यो वर्षमा बोर्डमा धेरै कर्मचारी हेरफेर भएकाले सचेतनाका लागि छुट्याएको रकम प्रयोग गर्न नसकिएको हो। गत आर्थिक वर्षदेखि बोर्डले नयाँ योजनासहित काम गर्ने लक्ष्य लिएको छ।’
अहिले प्रयोग नभएको रकम अन्य काममा खर्च गर्ने योजना रहेको अधिकारीले बताइन्।
बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारका लागि स्थानीय र केन्द्रीय स्तरका सञ्चार माध्यमबाट सचेतना कार्यक्रम प्रसारण गर्नुका साथै रोजगारसम्बन्धी ब्रोसर, पर्चा, प्रवास डायरी निकाल्ने गरेको छ। तर, यस्ता सन्देशमूलक कार्यक्रमको प्रभाव लक्षित कामदारसम्म नपुग्ने गरेको गुनासो कामदारले नै गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।