काठमाडौं– सहकारी सम्बन्धी विभिन्न संघसंस्थाले सहकारीमैत्री नियमावली बनाउन माग गरेका छन्। मंगलबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाललाई भेटी यस्तो माग गरिएको हो।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलीले न्यून आय भएकाहरुका लागि सहकारी भरोसाको केन्द्र रहेको जानकारी गराउँदै ल्याइन लागेको नियमावली सर्वस्वीकार्य हुनुपर्नेमा जोड दिएको छ। विभिन्न सरोकारवालासँग सल्लाह गरी नियमावलीको प्रारम्भिक खाका तयार भएको भन्दै तोडमरोड नगर्न पनि ध्यानाकर्षण गराएको टोलीमा सहभागीमध्येका सहकारीकर्मी अमर खड्काले बताए।
उनले भने, ‘राष्ट्रिय सहकारी बोर्डको नेतृत्वमा विभिन्न सहकारीहरुका संस्था, अभियन्ता र सरोकारवालाहरुसँग छलफल गरी नियमावलीका रुपमा अघि बढाउने निर्णय भएको छ। सोही अनुसार नियमावली आउनुपर्छ भनेर हामीले ध्यानाकर्षण गराएका छौं।’
ज्ञापनपत्र बुझाउन पुगेको टोलीमा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष बिबी बस्नेत, कृषि संघका अध्यक्ष सुरेन्द्र बस्नेत, सहकारी बोर्डका सहअध्यक्ष ओमदेवी मल्ल, महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल लगायतको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।