चितवन- पहिरो खसेपछि बिहान ४ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १२ घन्टापछि खुले पनि जामका कारण हजारौं यात्रु समस्यामा परेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका- ५ टोपेखोलामा खसेको पहिरो तीन वटा स्काभेटर लागेर अपराह्न ४ बजे खुलाए पनि यात्रु गन्तव्यतर्फ जान सकेका छैनन्। सवारीसाधन दुईतर्फी पास हुन थाले पनि जाम खुलिसकेको छैन।
जाम नखुल्दा हजारौं यात्रुले १२ घन्टाभन्दा बढी समयदेखि सास्ती खेपिरहेका छन्। पहिरो गएको ठाउँ नजिकै पसल र होटलहरु कम भएकाले यात्रुलाई सकस परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले बताए। यात्रुहरु सडक व्यापारीबाट चाउचाउ र काँक्रा किनेर दिनभर त्यसकै भरमा बसेका छन्।
जामको सास्ती भोगेका यात्रुले आफ्नो भोगाइ यसरी सुनाए:
गणेशप्रसाद सापकोटा (जन्ती), सुर्खेत
बिहान ५ बजेदेखि जाममा बसेको थिएँ। जाम खुलाउन छिटो-छरितो संयन्त्र र साधनको प्रयोग गरेको देखिएन। जनतालाई परेको पीर-मर्का सुन्न सरकार उदासीन छ। सुने पनि सरकारले वास्ता गर्दैन।
रविन्द्रप्रसाद यादव, जनकपुर
वैदेशिक रोजगारीका लागि मलेसिया जान जनकपुरबाट सोमबार साँझ काठमाडौंतर्फ हिँडेको हुँ। बिहान साढे ५ बजेदेखि जाममा परेँ। आजै दिउँसो पौने ३ बजेको फ्लाइट छ, यसबेलासम्म (बिहान १० बजे) जाममै छु। प्लेन छुट्ला कि भन्ने डर छ। यहाँबाट ४ किलोमिटर पैदल हिँडेर मुग्लिनसम्म जान्छु र त्यहाँबाट काठमाडौं जाने बस चढ्छु।
(उनको समयको हिसाब अनुसार प्लेन छुटेन होला भन्ने हाम्रो कामना छ।)
कृष्ण गुरूङ, स्थानीय विद्यार्थी
घर इच्छाकामना ६ काटीस्वरा हो। मुग्लिनमा रहेको त्रिवेणी बराह माविमा कक्षा ९ मा पढ्छु।
विद्यालय जान बिहान साढे ८ बजे नै हिँडेको हुँ, १० बजेसम्म पनि सडक खुलेन। मसँगै अरु १०/१५ जना साथीहरु पनि छन्। साढे १० बजेसम्म विद्यालय पुगिन्छ कि भन्ने आस थियो। तर, आजको पढाइ छुट्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।