काठमाडौं– मल्टी स्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ आफ्नो छायांकन सकिएसँगै प्रचारमा जुटेको छ। आउँदो भदौमा प्रदर्शनको लक्ष्य लिएको फिल्मले अहिलेसम्म प्रदर्शनको औपचारिक घोषणा मिति तय नगरी प्रचारमा जुटेको हो।
अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिको डेब्यु अभिनयसमेत रहेको फिल्मले प्रचार सुरु गरेको हो। फिल्मले प्रचारप्रसारको नयाँ शैलीमा राजधानीमा एक ‘फेशन शो’ सम्पन्न गरेको हो।
‘स्टार अन दि रेड कार्पेट’ नाम दिइएको उक्त फेसन शोमा २ दर्जन बराबर मोडलहरु सँगै फिल्मका निर्माता शिव श्रेष्ठसमेत फेसन र्याम्पमा सहभागी थिए। जहाँ अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिकको तर्फबाट तयार गरिएका नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभूषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुले आफ्नो प्रस्तुति दिएका थिए।
फिल्म ’एउटा यस्तो प्रेम कहानी’लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् ।
प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, नरेन खड्का, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुसाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोयराला, विष्णु चेमजोङ, लगायतको अभिनय रहेको फिल्मलाई शिव श्रेष्ठले नै लेखेका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।