रसुवा- रसुवामा हिंसापीडित महिलाहरुका लागि जिल्ला प्रहरी परिसरमा आधुनिक भवन निर्माण गरिएको छ। एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा जिल्ला प्रहरी परिसरमा आधुनिक भवन निर्माण गरिएको हो।
भवनको नेपाल प्रहरीका महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक रविन्द्र प्रसाद शर्माले सोमबार उद्घाटन गरेका छन्।
भवनमा हिंसामा परेर परिवारसँग अलग रहेको महिलाहरुलाई पुनर्स्थापित नहुनजेल सम्म आश्रय दिएर राख्नको लागि नवनिर्मित भवनले टेवा पुग्ने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
१ करोड ४३ लाख ८८ हजार ४९ को लागतमा निर्माण भएको उक्त भवनमा सुत्ने कोठा, भान्सा कोठा, डाइनिङहल, तालिम हल, कुरुवा कक्ष, स्टाफ कक्ष, शौचालय लगायतका गरि १४ वटा सुबिधा सम्पन्न कोठाहरु रहेका छन्।
भवन निर्माण भएसँगै टेन्टबाट पीडित महिलाले मुक्ति पाएको महिला तथा बालबालिका सेवा केन्द्र रसुवाका अध्यक्ष सुनिता गुरुङले बताइन्। उनले भनिन्, 'सुरक्षित भवन नहुँदा हिंसामा परेका पीडित महिलाहरुलाई राख्न धेरै गाह्रो थियो, अहिले भवन निर्माण भएसँगै उनीहरुलाई निकै सहज हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।