पोखरा- हिमालबाट बग्दै आउने मर्दीखोला गाउँको मुन्तिरबाटै बग्छ। यो त्यही खोला हो जसले पोखरामा खानेपानी आपूर्ति गरिरहेको छ।
विडम्बना खोलाको वरिपरिको गाउँका बासिन्दा भने खानेपानी अभाव झेलिरहेका छन्।
माछापुच्छ्रे गाउँपलिकाका अध्यक्ष कर्णबहादुर गुरुङ भौगोलिक उचाइका कारण मर्दीको पानी गाउँ उकाल्न नसकिएको बताउँछन्।
खानेपानी संस्थानले पोखरामा मर्दीको पानी ल्याएको छ। पानी लैजान बनाइएको बाँधका कारण गाउँ उल्टै मारमा परेको अध्यक्ष गुरुङले सुनाए। ‘गाउँपालिकाको वडा नम्बर ५ र ८ को बस्ती बाँधका कारण डुबानको जोखिममा छ,’ उनले भने, ‘वर्षैपिच्छे गिटी बालुवाको थुप्रोले पानीको सतह बढ्न जान्छ।’ पानीको बहाव बढेसँगै गाउँपालिकाको वडा नम्बर ४ र ६ का खेतीयोग्य जमिन वर्षैपिच्छे डुबानमा पर्ने उनले जानकारी दिए।

खानेपानीको मुहान भएकै कारण गिटी तथा बालुवा झिक्न नपाइने हुँदा समस्या उत्पन्न भएको गुरुङले बताए। ‘वर्षैपिच्छे तटबन्धको नाममा जाली लगाइराख्छौं, तर बालुवागिटीले पुरिएर बालुवाको सतह बस्तीभन्दा अग्लो भइसक्यो,’ उनले भने, ‘क्षति आउँदै छ भनेर हामी टुलुटुलु हेरेर बसेका छौं।’
गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष गुरुङले गाउँको खानेपानीको समस्या उजागर गरेका हुन्। उनले खानेपानीको मुहान सारेर गण्डकी हाइड्रो पावरमा लगेर जोडियो भने सबै समस्या हल हुने बताए। ‘भ्यालीकै सेटलमेन्ट भन्दामाथिबाट पानी आयो भने पोखरालाई पनि पुग्छ, गाउँपालिकाले स्वच्छ खानेपानी पाउने सम्भावना छ,’ उनले भने।
गाउँपालिकाले २ वर्षसम्म गाउँपालिकाका प्रत्येक घरमा धारा पुर्याउने गरी योजना ल्याएको छ।
गाउँसभामा चालु, पुँजीगत तथा वित्तीय गरी ४५ करोड ७ लाख ८० हजार बजेट सार्वजनिक भएको छ। गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रमसहित अर्थ विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित गर्दै सो बजेट सार्वजनिक गरेको हो।
कुनै पनि योजना पूरा गर्न रकम अपुग भए बचत हुने कार्यक्रमबाट बजेट सार्न सकिने विनियोजन विधेयकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।