काठमाडौं- कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएको जनाउँदै काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ।
कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ। हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ।
कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलिफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो।
अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको खाली स्थानमा दिसापिसाब गराउने प्रचलन छ। कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन्।
यसरी प्रवेश गर्ने जुकाले मानिसको शरीरलाई नकारात्मक असर गर्ने हुँदा कामपाले यस किसिमको नियमको सुरुवात गरेको हो। एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन्। यस्तो विकराल स्थिति रोक्न घरपालुवा कुकुरलाई घरमै दिसापिसाब गराउन कामपाले अनुरोध गरेको छ।
यसैगरी, घरपालुवा कुकुरको तुलनामा कम संख्यामा रहेको सामुदायिक कुकुर व्यवस्थापन गर्नका लागि पनि कामपाले विशेष अभियान थाल्ने पनि श्रेष्ठले बताए। दिएको निर्देशन पालना नगरेमा कारबाही गर्ने पनि महाशाखाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।