काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराउँदैछन्। विदेश भ्रमणबाट फर्केलगत्तै भ्रमण र सन्धि सम्झौताबारे संसदलाई जानकारी गराउने परम्परा अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ।
हिजै सम्बोधन गर्ने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको हो। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, ऊर्जा, जलस्रोत लगायत विषयमा सहमति भएको छ। प्रधानमन्त्री ओलीले चीन जानुअघि समेत भ्रमण एजेन्डाबारे सदनलाई जानकारी गराएका थिए।
विनियोजन विधेयक अन्तर्गत अहिले सदनमा छलफल चलिरहेको छ। आज राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि विनियोजित शीर्षकमा छलफल हुँदैछ। यो छलफलसँगै विनियोजन विधेयकमाथि धारणा राख्ने क्रम सकिने र सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।