काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले कला साहित्य क्षेत्रका तीन वटा प्रतिष्ठानलाई एकै ठाँउमा गाभ्ने निर्णय पुनर्विचार गरिने बताएका छन्।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानलाई गाभ्ने घोषणा गरेका थिए। घोषणा गरेको भए पनि यी तीन वटा प्रतिष्ठानलाई गभिन्छ नै भन्ने निश्चित नभएको मन्त्री अधिकारीले बताए।
गीत संगीतका अध्येताद्वय डा गोविन्द आचार्य र दुर्गा रायमाझीद्वारा लिखित दुई पुस्तकको सोमबार विमोचन गर्दै उनले तीन प्रतिष्ठानलाई गाभ्ने कि नगाभ्ने भन्ने बारेमा सुझाव दिन कार्यदल बनाउन लागेको जानकारी दिए।
मन्त्री अधिकारीले प्रतिष्ठानको गठन र नियुक्तिका लागि मापदण्ड बनाउन लागेको र त्यहीअनुसार आफूले पार्टीभन्दा माथि उठेर स्रष्टाको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले जग्गासम्बन्धी विवादका कारण सरकारले प्रतिष्ठान गाभ्ने तयारी गरेको बताउँदै केही वर्षअगाडि बनाएको संस्कृति नीतिअनुसार काम गर्न आग्रह पनि गरे।
मन्त्री अधिकारीले नेपाल म्युजिक सेन्टर ट्रष्टको योजनामा डा गोविन्द आचार्यले लेखेको ‘थारु जातिको लोकगीत तथा लोकसंगीत’ र डा गोविन्द आचार्य तथा दुर्गा रायमाझीद्वारा लिखित ‘मगर जातिको लोकगीत तथा लोकसंगीत’ पुस्तकको विमोचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।