डडेल्धुरा- डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्। मृत्यु हुनेमा आलिताल–६ दोबाटाका ११ वर्षीय भरत महर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
सोमबार साँझ ७ बजे जिल्लाको आलिताल गाउँपालिका–६ झरकाँडा (घोडेखान) मा बालुवा बोकेको से १ त ८४१० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। परशुराम नगरपालिका जोगबुडाबाट बालुवा ल्याएर बुडर हुँदै आलितला–६ दोबाटा जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर सडक भन्दा ८४ मिटर तल खसेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा आलिताल–७ बलौचाका दीपक बोहरा, उनका छोरा गाविन्द बोहरा, सोही गाउँपालिका–६ भवना हिक्मत महरा, प्रेम महरा, सीता पहरी, मानबहादुर कुँवर र चन्द्र महरा रहेका छन्। ट्याक्टर चालक फरार छन्। घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।