इस्तानबुल- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएकोमा विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन्।
एर्डोगान थप पाँच वर्षका लागि टर्कीको सत्तामा आएका हुन्। सोमबार टर्कीको निर्वाचन आयोगले यस परिणाम घोषणा गरेको छ।
उनी विजयी भएको नतिजालाई विपक्षीले पनि स्वीकार गरेका छन्। केही वर्षयतादेखि टर्कीमा उनीविरुद्ध सैनिक कू भएको भन्दै राजनीतिक अस्थिरता बढेको थियो।
उनले देशका हजारौँ व्यक्तिलाई जेल हालेका थिए। त्यहाँ पटकपटक विद्रोहको प्रयास पनि भएको थियो।
हालै सम्पन्न यस निर्वाचनका क्रममा विपक्षीहरू पनि निकै कडा रूपमा प्रस्तुत भएका थिए। पुनः एर्डोगानको पक्षमा परिणाम आएमा र विपक्षीहरूले स्वीकार नगरेमा यहाँ फेरि पनि राजनीतिक विद्रोह र विवादको आशङ्का रहेको बताइएको थियो।
प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकार्दै एर्डोगानलाई बधाई दिएका छन्। साथै उनले सबैको राष्ट्रपति बन्ने प्रयास गर्न पनि आग्रह गरे।
रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन्।
यसरी विपक्षीले निर्वाचनको परिणाम स्वीकार गरेपछि भने देशमा सकारात्मक सन्देश प्रवाह भएको छ।रासस/एफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।