काठमाडौँ- इटालीको ट्रेन्टो प्रदेशको ऐतिहासिक रोभेरेटो सहरस्थित बेल अफ द फलन भनिने घन्ट अर्थात् मारिया डोलेन्समा नेपाली राष्ट्रिय झन्डा फहराइएको छ।
जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस बेलको सामुन्ने नेपाली झन्डा फहराइएको जेनेभास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको हो।
उक्त समारोहमा नेपालको तर्फबाट इटालीका लागि गैरआवासीय राजदूत दीपक धिताल, पिस वेल फाउन्डेसनका प्रमुख संरक्षक सिनेटर अल्बर्टो रोबललाई राष्ट्रिय झन्डा हस्तान्तरण गरिएको थियो।
पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय गानसहित झन्डोत्तोलनपछि एक सय पटक घन्टा बजाउनुका साथै इटालीको राष्ट्रिय गानसमेत बजाइएको थियो।
नेपालको झन्डा दुई हप्तासम्म घन्टाको सामुन्ने छुट्टै फहराइने र त्यसपछि स्थायी रुपमा अन्य मुलुकका झन्डासँगै राखिने जनाइएको छ।
राजदूत धितालले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशको तर्फबाट विश्व शान्ति र भाइचाराप्रति ऐक्यबद्धता जनाउने प्रतीकात्मक घन्टा भएको मिरावेल हिलमा नेपालको झन्डा स्थापित गर्न पाउँदा खुसी र गौरव अनुभव भएको बताए।
पिस फाउण्डेसनको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा फाउन्डेसनका अध्यक्ष, ट्रेन्टो प्रान्तका लागि सरकारी कमिशनर, प्रान्तका अध्यक्ष र ट्रेन्टो सहरका उपमेयर लगायत करिब १५० जनाको उपस्थिति थियो।
प्रथम विश्वयुद्धताका ट्रेन्टिनो युद्धमा मारिएका १२ देशका करिब २० हजार ज्ञातअज्ञात सैनिकको सम्झनामा सम्बन्धित मुलुकबाट प्राप्त तोपको काँस धातुबाट बनेको अजंगको घन्टलाई मारिया डोलेन्स भनिन्छ।
सन् १९२४ मा स्थापित विश्व शान्ति, सहिष्णुता र समझदारीको प्रतीक यस स्मारकमा ऐक्यबद्धता प्रदर्शन गर्दै नेपाल लगायत ९६ मुलुकले हालसम्म आ–आफ्ना राष्ट्रिय झन्डा स्थापना गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।